काठमाडौं । इन्टरनेटमा हेरेर अवैध रुपमा गुणस्तरहीन स्यानिटाइजर बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका घर भएका २३ वर्षीय दुर्गा भट्टराई छन् ।

अपराध महाशाखाको टोलीले सोमबार दिउँसो छापा मारेर गुणस्तरहीन स्यानिटाइजरसहित भट्टराईलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार ललितपुर महानगरपालिका–१० मा समिट होटल छेउ घर भाडामा लिएर भट्टराईले अवैध रुपमा स्यानिटाइजर तयार गर्ने गरेको प्रारिम्भक अनुसन्धानबाट देखिएको छ ।
‘स्यानिटाइजरमा राख्ने लेबल पनि इन्टरनेटमा हेरेर आफैं राखेको उनले बताए। प्रहरीका अनुसार हाल करिब १५ सय तयारी स्यानिटाइजर बरामद भएको छ ।

स्यानिटाइजरलाई थप परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाइने कोइरालाले बताए ।
आइतबार मात्रै अपराध महाशाखाले उपत्यकाको तीन ठाउँमा छापा मारेर ठूलो परिमाणमा गुणस्तरहीन स्यानिटाइजर बरामद गरेको थियो ।
दुवै घटनाका आरोपीविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले बताएको छ ।
