काठमाडौं । कवि तथा उपन्यासकार डा. बानिरा गिरिको निधन भएको छ। तीन हप्ताअघि कोरोना संक्रमित भए पनि उनको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ।


आइतबार राति १० बजे नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याएको केहीबेरमा लेखक गिरिलाई चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।
तीन वर्षदेखि अल्जाइमर्स रोगसँग लडिरहेकी लेखक गिरि ७५ वर्षकी थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् ।
डा. गिरीका ‘एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।
डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।
