सशस्त्र प्रहरीले चलाएको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ।

पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभर घाइते भएका थिए।
घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्याइएको थियो।
उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए। उनको तीघ्रामा गोली लागेको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिहान भारतीय सीमा क्षेत्रतर्फ जाँदै गरेका ४र५ जना युवालाई सीमामा खटिएको प्रहरीले रोक्न खोज्दा प्रहरिमाथि नै जाई लागेछन्, पछि गाउँका थप युवाले समेत प्रहरीमाथि आक्रमण गर्न खोज्दा आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको बताए।
युवाको घुँडामुनि गोली लागे पनि मृत्यु भएको हो। साथै स्थानीय युवाहरूको भीडको आक्रमणबाट सशस्त्रका प्रहरी नायब निरीक्षक शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ।
