काठमाण्डौ – बुधवार (आज) र भोलि (बिहीवार) देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ–ते सोमवार भारतको गुजरातमा बज्रिएपछि कमजोर भए पनि नेपालमा पर्सी शुक्रवारसम्म प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखा ले जनाएकोछ ।

ताउ–तेु चक्रवातका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।
प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागको अनुमान छ ।
विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
