
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्।
बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै सहयोग नमाग्ने बताएका छन् । यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने घोषणा गरेको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्।

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन।
अमेरिकाले यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो। अब भने कुनकुन मुलुकले खोप पाउँछन् भन्ने ह्वाइटहाउसले खुलाएको छैन।
गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको उनले बताएका छन् । ८ करोड डोज खोप दिने बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गरेका छन्।
