काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा आफैंले हेर्ने भएका छन् । रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल बेन्चमा हुन लागेको हो ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै बरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
राष्ट्रपति विध्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । उक्त कुरा सामाजिक संजाल लगायतमा पनि भाइरल बनेको थियो ।