• सोमबार, असोज १२ २०८३

म्यानमारकी यी सुन्दरीले बोकिन् सैनिक शासनविरूद्ध बन्दुक


सोमबार, जेष्ठ ३ २०७८
655
Shares


एजेन्सी । म्यानमारमा एक जना सुन्दरीले सैनिक शासनविरूद्ध विद्रोह गर्न बन्दुक बोकेकी छन्।

सन् २०१३ मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा म्यानमारका तर्फबाट भाग लिएकी ३२ वर्षीया तार तेट तेट आदिवासी विद्रोही समूहसँग जोडिएकी हुन्। उनले जंगलमा राइफल बोकिरहेका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।

‘सेनाविरूद्ध लड्ने समय आइसकेको छ,’ उनले फेसबुकमा लेखेकी छन्,‘तपाईंले हतियार समात्नुस्, कलम वा किबोर्ड वा प्रजातान्त्रिक आन्दोलनका लागि चन्दा दिनुस्। आन्दोलनलाई सफल पार्न सबैले आफ्नो भूमिका निर्वाह गर्नैपर्छ।’

ट्वीटरमा उनले चे ग्वोभाराको ‘क्रान्ति पाकेको स्याउजस्तो आफैं झर्दैन हामीले गर्नुपर्छ’ भन्ने भनाइ राखेर आफ्ना तस्बिरहरू राखेकी छन्।

तेटले आफूले क्रान्तिका लागि सकेजति सबै गर्ने र ज्यान दिनु पर्ने भए पनि पछि नहट्ने बताएकी छन्।

म्यानमारको सेनाले गत फेब्रुअरी १ मा नोभेम्बरको चुनावमा धाँधली भएको आरोप लगाउँदै नागरिक सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको थियो।

प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलगायत पूर्वराष्ट्रपति र अन्य अधिकारीहरूलाई नियन्त्रणमा लिएको सेनाले त्यसयता भएका विरोध प्रदर्शनमा सयौं नागरिकको गोली हानी हत्या गरेको छ। अहिलेसम्म ७ सय ८३ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सयभन्दा बढीलाई सेनाले पक्राउ गरेको छ।

पछिल्लो समय म्यानमारका विभिन्न आदिवासी विद्रोही समूहले सैनिक शासनविरूद्ध सैन्य आक्रमण थालेका छन्। कतिपय नागरिकहरू सैनिक शासनविरूद्ध लड्न त्यस्ता विद्रोही समूहसँग तालिम लिन पनि गएका छन्। तेट कुन समूहसँग गइन् भन्नेचाहिँ खुलेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार