काठमाडौं । भारतमा विनास गर्न थालेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि आज (सोमबार) बिहानै सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अरब सागरमा विकसित शक्तिशाली चक्रवातको असर सोचेभन्दा अलि चाँडै सुरु भएको हो।
मौसमविद् अर्यालका अनुसार यसको असर आज दिउँसो, साँझतिरदेखि सुरु हुनु पर्नेमा बिहानैदेखि आंशिक प्रभाव परिसकेको बताए । खासगरी यसको असर पश्चिमी भूभागमा, साथै काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् अर्यालले जानकारी दिए ।
चक्रवातको असरका कारण देशको पश्चिमी आकाशमा माथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ।
चक्रवातको असर भरे, भोलि बढ्दै जान्छ। यसको निरन्तर अपडेट गरिरहनुपर्ने उनले बताए।
यस विषयमा मौसम पूर्वानुमान महाशाखाले आइतबारै साँझ विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।


महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा अति शक्तिशाली चक्रवात विकास भएको हो। भारतमा जसको नाम ‘ताउतेई’ राखिएको छ। नेपालमा त्यसको प्रत्यक्ष प्रभाव नपरे पनि केही असर पर्नेभएकोरपरेको हो।
यो चक्रवातका कारण भारतमा आइतबारदेखि नै क्षति हुन थालिसकेको छ। आज साँझसम्म यो चक्रवात अरब सागरबाट भारतको गुजरातमा आइपुग्ने अनुमान त्यहाँका मौसमविद्ले गरेका छन्।
अहिले त्यहाँका स्थानीय आतंकित भएका छन् भने अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितलाई पनि अन्यत्र सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालका मौसमविद्का अनुसार चक्रवात आज गुजरातमा जमिनमा प्रवेश गरेपछि त्यसले फरक स्वरूप तथा दिशा लिन सक्छ। र, त्यस आधारमा नेपालमा पर्ने असर घटीबढी हुने सम्भावना पनि छ।
त्यसका लागि आफूहरूले त्यस चक्रवातको अवस्थाबारे घण्टाघण्टामा निगरानी गरिरहेको मौसमविद् अर्यालले बताए।
