
माेहसिन अलि मियाँ, गोरखा । गोरखामा सकृय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय गोरखाको तथ्यांक अनुसार बैशाख ३१ गते बेलुकासम्म गोरखामा ५ सय ९ जना सकृय संक्रमित रहेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरपछि गोरखामा ६ सय ४ जना कोरोना भाइरसबाट संक्रमित बनेका थिए । जसमा २ सय ८५ जना महिला छन् भने ३ सय १९ जना पुरुष रहेका छन् ।
हालसम्म ९५ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ५२ महिला र ४३ पुरुष छन् ।
तथ्यांक अनुसार गोरखामा सबैभन्दा बढी संक्रमण पुरुषमा भएको देखिन्छ भने संक्रमण निको हुनेमा महिलाको संख्या धेरै छ ।
त्यस्तै गोरखामा कोरोना भाइरसबाट हाल सबैभन्दा बढी भिमसेन थापा गाउँपालिकाका नागरिक पिडित बनेका छन् । विषेश गरेर सो गाउँपालिकाको वडा नम्बर ८ क्यामुन्टार क्षेत्रका बासिन्दा सबैभन्दा बढी संक्रमित हुन पुगेका हुन ।
हालसम्म सो पालिकामा १ सय ९० जनालाई संक्रमण भइसकेको छ । जसमा १ सय १ जना महिला र ८९ जना पुरुष रहेको बताइएको छ । त्यस्तै सो संख्याबाट ६० जना भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कोरोना मुक्त हुनेमा ३५ जना महिला र २५ जना पुरुष छन् । हाल भिमसेन थापा गाउँपालिकामा १ सय ३० जना सकृय संक्रमित रहेका छन् । जसमा ६६ जना महिला र ६४ जना पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए । दोस्रो लहरपछि सो गाउँपालिकामा कोरोनाकै कारण कसैले ज्यान भने गुमाउनु परेको छैन ।
त्यस्तै संक्रमित धेरै हुनेमा गोरखा नगरपालिका दोस्रोमा छ । हालसम्म यस नगरपालिकामा ४४ जना महिला र ८५ जना पुरुष गरी १ सय २९ जना संक्रमित भइसकेका छन् । जसमा ११ महिला र १६ पुरुष गरी २७ जना संक्रमण मुक्त भएको कार्यालयले सिभिलखबरलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
हाल गोरखा नगरपालिकामा १ सय २ जना सकृय संक्रमित रहेका छन् । जसमा ३३ महिला र ६९ पुरुष छन् । त्यस्तै गोरखा नगरपालिकामा संक्रमणबाट २ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै शहिद लखन गाउँपालिका संक्रमित धेरै हुनेको तालिकामा तेस्रो नम्बरमा छ । जहाँ हालसम्म १ सय जना संक्रमित भइसकेका छन् ।
जसमा ४६ जना महिला र ५४ जना पुरुष रहेको बताइएको छ । शहिद लखनमा हालसम्म कोहीपनि संक्रमित निको भएका छैनन । सोही संख्याबाट संक्रमणकै कारण एक जनाको ज्यान समेत गएको तथ्यांकमा बताइएको छ ।
त्यस्तै आरुघाट गाउँपालिकामा हालसम्म ७६ जना संक्रमित भएका छन् । जसमा ३६ जना महिला र ४० जना पुरुष रहेका छन् । आरुघाटमा संक्रमणकै कारण एक पुरुषले ज्यान समेत गुमाईसकेका छन् ।
यसैगरी पालुङटार नगरपालिकामा ३४ जना संक्रमित हुदा ७ जना निको भइसकेको अवस्था छ भने अजिरकोटमा ९ जना संक्रमित भएका छन् । गण्डकी गाउँपालिकामा २९ जना संक्रमित छन् । जहाँ एक जनाले मात्रै संक्रमण मुक्त भएका छन् ।
त्यस्तै बारपाक सुलिकोटमा २ जना, सिरानचोक गाउँपालिकामा १७ जना, धार्र्चेमा १८ जना संक्रमित रहेका छन् । धार्चेमा गाउँपालिका अध्यक्ष आफै समेत संक्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय गोरखाबाट प्राप्त तथ्यांक अनुसार हालसम्म गोरखाको चुमनुब्री गाउँपालिका कोरोना भाइरसको संक्रमणबाट मुक्त छ । जहाँ हालसम्म एक जनामा पनि संक्रमण देखिएको छैन ।
जिल्लामा संक्रमण भएका अधिकांश नागरिक हाेम आइसाेलेसनमै बसेका छन् । हाल गोरखा अस्पतालमा १३ जना संक्रमितले उपचार गराइरहेकाे अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई बताए ।
हेर्नुस तालिका

