सडक चेकिङमा बसेको बखत गाडीले ठक्कर दिँदा रूपन्देहीमा प्रहरी हवल्दारको मृत्यु भएको छ।

रूपन्देहीको कन्चन गाउँपालिका—४ थकाली चोकमा चेकिङमा रहेका बेला इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो।
प्युठान ऐरावती गाउँपालिका२ घर भएका ३६ वर्षीय बुढा मगरको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बिहीबार बिहान अन्दाजी २ बजे बुढा मगरलाई ठक्कर दिने गाडीको भने पहिचान खुल्न नसकेको बताए।

बुढा मगरको शव अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र सडकमा विभिन्न स्थानमा राखिएका सिसिटिभी क्यामेराको माध्यमबाट ठक्कर दिने गाडीको खोजी भइरहेको थापाले जानकारी दिए।