• सोमबार, असोज १२ २०८३

मुस्लिम समुदायको इद पर्व भोली, घरमै मनाउन सरकारको आग्रह


बिहिबार, बैशाख ३० २०७८
550
Shares

मेलिना बराम, गोरखा । मुस्लिम समुदायले भोली शुक्रबार इद पर्व मनाउदैछन् । इस्लामिक क्यालेण्डर अनुसार नवौ महिना रमजान भर एक महिने व्रत सकेर दशौँ महिना सौवालको पहिलो दिन अर्थात भोली गोरखा सहित देशभरका मुस्लिम समुदायले इद–उल–फित्र पर्व मनाउदैछन् ।

बैशाख १ गतेदेखि सुरु भएको रमजानको रोजा (ब्रत) आज साँझ करिब ७ बजे अर्ध चन्द्रमा देखिएसंगै सकिने र भोली इद पर्व मनाउने तयारी रहेको मुस्लिम धार्मिक गुरुहरुको भनाई छ ।

विशेष गरेर इद पर्वका दिन बिहान मस्जिद, इदगाह लगायतमा भेला भई सामुहिक नमाज पढ्ने, आफन्त, नातेदारहरु बिच खुसी साँटासाँट गर्ने प्रचलन छ ।

साथै यस पर्वमा खुशीपूर्वक दान गरेर दिनदुःखीलाई सहयोग गर्ने, एक बर्षसम्म कमाएको सम्पत्तिबाट केहि प्रतिशत धार्मिक कर तिर्ने र यसरी तिरेको रकमलाई सामुहिक संकलन गरी सामाजिक सेवामा लगाउने वा गरिव, असहायलाई बाड्ने प्रचलन पनि छ ।

गोरखा जिल्लामा बिभिन्न स्थानीय तहहरुमा गरी करिब ५० वटा मस्जिद छन् । जसमा सबैभन्दा बढी गोरखा नगरपालिकामा मुस्लिम समुदायको बसोबास रहेको छ । त्यस्तै पालुङटार नगरपालिका, भिमसेन थापा, गण्डकी, सिरानचोक, आरुघाट, शहिद लखन लगायतका स्थानीय तहहरुमा समेत मुस्लिम समुदायको बाक्लो उपस्थिती रहेको छ ।

कोरोना भाइरसको जोखिमका कारण रमजानको रोजामा दैनिक सामुहिक रुपमा पढिने तराविहको नमाज समेत आ–आफ्नो घरमा पढेका मुस्लिम समुदायको इद पर्व समेत घरभित्रै मात्र सिमित हुने भएको छ ।

‘हामीले अघिल्लो साल पनि दुई वटै इद सामुहिक मनाएनौ’ गोरखा नगरपालिका २ का वडाध्यक्ष रहमतुल्ला मियाँले सिभिलखबरलाई भने ‘स्वास्थ्य सुरक्षा र यो बर्ष देखिएको कोरोनाको दोस्रो लहरलाई मध्यनजर गरेर हामीले जिल्लाभरका मुस्लिम समुदायलाई घरमै इद मनाउन आह्वान गरिसकेका छौ ।’

साथै उनले इदपछि हुने आफन्तजनहरुको आवतजावतलाई समेत रोक लगाइएको बताएका छन् ।त्यस्तै सरकारले गरेको निर्देशन कार्यान्वयन गराउन र स्वास्थ्य सुरक्षाका उपायहरु पालनामा मुस्लिम समुदाय प्रतिवद्ध रहेको समेत उनले बताए ।

घरमै मनाउन प्रशासनको आग्रह
त्यस्तै बुधबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सुचना प्रकाशित गरी इद पर्व घरमै मनाउन आग्रह गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत हर्क बहादुर रोकाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘इद पर्व मनाउने क्रममा अनावस्यक घुमफिर र भिभाड नगर्नु नगराउनु हुन र नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गरी आफ्नो परिवारसंग घरमै बसी मनाउनुहुन सम्बन्धित सबैमा यो सुचना जारी गरिएको छ ।’
हेर्नुस सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार