गोरखा । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरेकाे बारपाक फोटो प्रदर्शनीमा खुसीराम घले पहिलाे बनेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका (गोरखा), नेपाल पर्यटन बोर्ड, फोटोग्राफर उमा बिष्ट र स्टोरी साइकलले संयुक्त रूपमा निर्णय गरि विजेता फोटोग्राफर छनोट गरेको हो।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु भएको कारणले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँको प्रचार-प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गरिएको थियो।
उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिएका थिए ।
पहिलो हुने घलेले १० हजार रूपैयाँ, दोस्रो हुने सिरिस वि.सीले ८ हजार रूपैयाँ र तेस्रो हुने अमिर श्रेष्ठको फोटोले ५ हजार रूपैयाँ नगद पुरस्कार पाएको छन्।
प्रकृति, संस्कृति लगायत आकर्षण समावेश गरिएको फोटाका प्रदर्शनी नेपाल पर्यटन बोर्डको फोटो अभियानको पोर्टल www.photonepal.travel मा गरिएको थियो।
साथै विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको हो । फोटो प्रदर्शनी वैशाख १० बाट सुरू भई वैशाख २४ सम्म चलेको थियो ।
हेर्नुस उत्कृष्ट ३ फोटाे


