काठमाडौं । दैनिक कोरोना संक्रमणको दर भारतमा भन्दा नेपालमा बढी रहेको पाइएको छ।
दैनिक भारतमा प्रति १० लाख जनसंख्यामध्ये २४० जना संक्रमित हुने गरेकोमा नेपालमा भने ३०४ संक्रमित हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा। अर्चना श्रेष्ठले जानकारी दिइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले सो जानकारी गराएकी हुन्।
त्यस्तै कोरोनाको मृत्युमा पनि भारतलाई नेपालले उछिनेको छ। दैनिक प्रति १० लाख जनसंख्यामध्ये नेपालमा ३.३ को मृत्यु हुने गरेको छ भने भारतमा २.५ को मृत्यु हुनेको गरेको छ।
त्यस्तै परीक्षण गरिएकामध्ये पोजेटिभ देखिनेको संख्या पनि भारतमा भन्दा नेपालमा उच्च छ। औसतमा दैनिक भारतमा परीक्षण गरेकामध्ये २२. ६ प्रतिशतलाई कोरोना देखिने गरेकोमा नेपालमा ४५. १ प्रतिशतलाई देखिने गरेको छ।

यसैबीच बुधबार पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जनाको मृत्यु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसहित हालसम्म कोरोनाबाट ४ हजार २५२ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन्। आज थपिएकासहित सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ।
यस अवधिमा २० हजार ३६२ जनाको पिसिआर परीक्षण र ४२४ जनाको एन्टिजेन परीक्षण भएको थियो। यस दिन ४ हजार ४४४ जना कोरोनाबाट निको भएका छन्।
