• सोमबार, असोज १२ २०८३

खाडी मुलुकमा रहेका नेपालीले खरिद गरे ६ सय थान अक्सिजन सिलिण्डर


बुधबार, बैशाख २९ २०७८
605
Shares


काठमाडौं । खाडी मुलुकमा रहेका नेपालीहरुले देशलाई कोभिड महामारीमा सघाउन ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् ।

प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले बताए ।

खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए ।

अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससंग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पुर्‍याउने गरी काम भइरहेको उनले सुनाए ।

अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर हुने झाले जानकारी दिए । एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढेको उनले बताए ।

खरिद गरिएका सिलिण्डरको तौल समान किसिमको नभएका कारण एकै पटकमा पाँच सय ५० वटा भन्दा धेरै सिलिण्डर पठाउन नसकिने होकी भन्ने चिन्ता थपिएको अध्यक्ष झाले बताए ।

अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तित भएको र स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु भएको पनि उनले बताए ।

खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

सिलिण्डर नेपाल पाठउन के कसरी सकिन्छ भन्नेबारे नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

सकेसम्म नेपाल एयरलाइन्सको जहाजमा एकै खेपमा सिलिण्डर पठाउन सकिने गरी छलफल भइरहेको उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार