• बुधबार, साउन १३ २०८३

भक्तपुर अस्पतालमा सकियो अक्सिजन, शैय्यामा छट्पटाउँदै बिरामी


बुधबार, बैशाख २९ २०७८
640
Shares


भक्तपुर । भक्तपुर अस्पतालमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ ।

अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको हो ।

जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौतारिँदा पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन् ।

सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुईदिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

सिसीएमसीको लापरबाहीका कारण थप समस्या परेको हो । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ ।

भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, छ शय्या आइसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा गौतमले जानकारी दिइन् । सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ ।

विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन । त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि हिजो साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।

This image has an empty alt attribute; its file name is new-alam-auto-workshop-2.gif

डा गौतमले भनिन्, “उपत्यकामा अक्सिजन नपाएपछि जनकपुरदेखि ल्याउन थाल्यौँ, अब त्यहाँबाट पनि सहज नपाइने भयो, सरकार ७० शय्याको हाइकेयर युनिट चलाऊ भन्छ, तर अक्सिजन छैन, भर्ना भएका बिरामीलाई अक्सिजन नभएको अवस्थामा नयाँ बिरामीलाई कसरी भर्ना गर्ने रु” सिसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकहरुलाई हम्मे परेको छ ।

डा गौतमले भनिन्, “अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनुपर्छ, बिरामीको ज्यान जोखिममा छ, अक्सिजन नहुँदा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी अस्पतालले लिन सक्दैन ।” बिरामीको सङ्ख्या र आवश्यकता हेरेर तत्काल अक्सिजनको व्यवस्था गरिदिन उनले आग्रह गरिन् ।

सिसीएमसीको सिफारिसबिना अक्सिजन दिन नपाउने नियम बनाएपछि अस्पताललाई थप समस्या परेको छ । सिसीएमसीले जथाभावी अक्सिजन कम्पनीमा अस्पतालको नाम र अस्पताललाई आवश्यक पर्नेभन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिस गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकहरुको भनाइ छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार