काठमाडौं । न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामदसमेत गरिएको छ ।


काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । अनुगमनमा अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागका प्रतिनिधिसमेत थिए ।
बिल बिजक नभएको, निर्माण कम्पनीको ठेगाना नभएको, बार कोड नभएको र चाइनिज अक्षरजस्तो लेखिएकाले ती अक्सिमिटरलाई नक्कली भएको आशंका गरिएको छ ।
अपराध महाशाखाले यसबारे थप अनुसन्धान जारी राखेको छ । पक्राउ परेका सबैलाई कालोबजारी ऐन अन्तर्गत अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

शरीरमा अक्सिजनको मात्रा मापन गर्ने अक्सिमिटर हाल बजारमा अभाव देखिन्छ ।