काठमाडौं । तपाईं नेपाल टेलिकमको सेवा प्रयोग गर्नुहुन्छ भने टेलिफोन गर्दा यो गीत बजेको याद गर्नुभयो होला। नेपाल टेलिकमको रिंगब्याक टोनमा बज्न थालेको यो सन्देशमूलक गीत गायक—अभिनेता हरिवंश आचार्यले गाएका हुन्।

कोरोना महामारीको सन्दर्भमा एक हप्ताअघि यो सन्देशमूलक गीत गाएका थिए। दिनेश कुमार थपलियाको शब्द र दीपक शर्माको संगीतमा तयार भएको यो गीत महसञ्चारको युट्युब च्यानलबाट गत हप्ताको सोमबार अपलोड गरिएको हो।
उनले यो सन्देश गीत देशभरका रेडियो/एफएम र स्वास्थ्य मन्त्रालयको पहुँच भएका माध्यमहरुमा प्रसारण गरिने तयारी भएकोले यसबाट मानिसमा कोरोनाबारे सचेतना बढाउन उपयोगी हुने विश्वास व्यक्त गरे।
उनका अनुशार सामूहिक हितका लागि बनाइएको यो भिडिओ सन्देश तयार पार्न संलग्न कसैले पनि पारिश्रमिक लिएका छैनन्। हरिवंशले विगतमा पनि स्वास्थसम्बन्धी सचेतना जगाउने धेरै टेलिभिजन र विज्ञापनहरुमा काम गरिसकेका छन्।

गत वर्षको असोजमा कलाकार हरिवंश आचार्य र उनको परिवारलाई कोरोना संक्रमण भएको थियो। यो बैशाखमा हरिवंशका जोडी मनदकृष्ण श्रेष्ठ र उनको परिवारलाई कोरोना देखिएको छ।
कोरोनासँग लडेर महामारीबारे सन्देश फैलाइरहेका हरिवंश सकेसम्म सावधानी अपनाएर कोरोना लाग्न नदिनु, लागिहाले यसलाई जितेरै छोड्छु भन्ने आत्मविश्वास बलियो बनाइराख्नु अहिलेको खाँचो रहेको बताउँछन्।
नेपाल टेलिकमको रिंगब्याक टोनपछि चाँडै एनसेलबाट पनि यो सन्देशमूलक गीत बज्ने पनि उनले जानकारी दिए।