• मंगलबार, असोज १३ २०८३

कोभिड अस्पताल र अक्सिजन बैंक सञ्चालन गर्न गोरखाका नागरिक समाजको माग


आइतबार, बैशाख २६ २०७८
1000
Shares

गोरखा । कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल निर्माण गर्न गोरखाका नागरिक समाजले माग गरेका छन् ।

आइतबार जिल्ला समन्वय समितीका प्रमुख अशोक गुरुङ र प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेललाई ज्ञापन पत्र बुझाउदै जिल्लास्थित नागरिक समाज संघसस्थाका प्रतिनिधीहरुले मास आइसोलेसन निर्माण गर्न माग गरेका हुन ।

१० बुदे मागपत्रमा कोरोना भाइरसको दोस्रो लहर रोकथाम र न्यूनिकरणमा थप सशक्त र प्रभावकारी भुमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

जिल्लामा मास आइसोलेसन नहुदा कोभिडका बिरामीले उपचार नपाउने अवस्था सृजना भएको भन्दै उनिहरुले तत्काल अक्सिजन, आइसियूसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने माग गरेका हुन ।

नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गैसस महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठ र सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘कोभिड १९ को प्रकोप देशभर व्यापक बन्दै जाँदा संक्रमितको उपचारका निमित्त साधारण तथा अक्सिजन सेवा सहितका शैया लगायतका सेवाहरुको अभाव रहेको जनगुनासो र सूचनाहरु आइरहेका छन्, जसले गर्दा कोभिड १९ को महामारीले भयावह निम्त्याउने खतरा रहेको छ । ।’

त्यस्तै उनिहरुले जिल्लामा रहेका अन्य नीजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालका रुपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । यसैगरी प्रयाप्त अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न, कन्ट्राक्ट ट्रेसिङ र पिसिआर परिक्षणको दायरा फराकिलो बनाउन, अक्सिजन बैंक निर्माण गर्न माग गरेका छन् ।

यसैगरी निषेधाज्ञालाई मौका छोपी स्वास्थ्य तथा खाद्यान्न सामाग्रीहरुमा हुन सक्ने कालोबजारी रोक्न नियमित अनुगमन र निगरानी गर्न समेत सरकारी निकायसंग नागरिक समाजले माग गरेको छ ।

काेराेना भाइरसकाे जाेखिम र जिल्लाकाे अवस्थाका बारे गत बैशाख १९ गते जिल्लाका नागरिक समाज संघसस्थाकाे बैठकले बर्तमान बस्तुस्थिती र आउन सक्ने चुनाैती एंव समस्याका बारे सराेकारवालाहरुकाे ध्यानाकर्षण गराउने निर्णय गरेकाे थियाे ।

नागरिक समाजको ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समितीका प्रमुख गुरुङ र प्रजिअ पौडेलले नागरिक समाजको सुझावलाई गम्भिरता पूर्वक लिएर आगामी दिनमा कार्ययोजना सहित अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

साथै उनिहरुले यस बिषयमा आगामी बैठकमा छलफल गरी निर्णय गर्ने समेत बताएका छन् ।

हेर्नुस ज्ञापनपत्रको पूर्ण पाठ

कोरोना भाइरस् ९कोभिड१९० महामारीको सन्दर्भमा
मिति : २०७८ बैशाख २६
बिषय : ज्ञापन पत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा गोरखा सहित देशलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको यस बिषम परिस्थितीमा सिमित स्रोत र साधनका वीच गोरखामा कोभिड १९ रोकथाम, न्यूनिकरणका लागि तिनै तहका सरकारले खेलेको भुमिकाको सम्मान गर्दै यस अभियानलाई थप सशक्त र प्रभावकारी बनाई नागरिकहरुलाई भयमुक्त बनाउन बनाउन आग्रह गर्दछौ ।
यस महामारीको दोस्रो लहर ब्यापक भएपछि देशमा दैनिक हजारौंको संख््यामा संक्रमित बढेका छन् भने दैनिक रुपमा मृत्यु हुनेहरुको संख्या पनि बढ्दोदरमा रहेको छ । कोभिड १९ को प्रकोप देशभर व्यापक बन्दै जाँदा संक्रमितको उपचारका निमित्त साधारण तथा अक्सिजन सेवा सहितका शैया लगायतका सेवाहरुको अभाव रहेको जनगुनासो र सूचनाहरु आइरहेका छन् । त्यसो त समाजमा अहिले मुख्य रुपमा कन्ट्याक्ट ट्रेसिङ जुन रुपमा व्यापक बनाइनुपथ्र्यो त्यो पक्ष अभाव रहेको देखिन्छ जसले गर्दा कोभिड १९ को महामारीले भयावह निम्त्याउने खतरा रहेको छ ।
यस्तो विषम परिस्थितिलाई आंकलन गर्दै गोरखाका नागरिक समाज तथा संघ–संगठनहरुले वैशाख १९ गते संयुक्त बैठक आयोजना गरी कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारसँग प्रभावकारी सहकार्य गर्ने, अत्यावश्यक स्वास्थ्य सामग्रीहरु जस्तै अक्सिजन सिलिन्डर, मास्क, अक्सोमिटर, सेनिटाइजर, एम्बुलेन्स र प्लाज्मा रगत लगायतको अभाव हुन नदिन सबै खालका सहायता जुटाउन पहल गर्ने, जिल्लाभर सचेतना अभियान सञ्चालन गर्ने र स्थानीय सरकार, जिल्लास्थित सुरक्षाकर्मीहरु, पत्रकार लगायत विभिन्न पक्षसँगको सहकार्यमा आवश्यक मानवीय कार्यलाई निरन्तरता दिन नागरिक समाज र संघ–संगठनहरु प्रतिबद्ध रहने निर्णय गरिएको छ ।
यस महामारीको त्रासदीबाट आमनागरिकलाई बचाउन स्थानीय र प्रदेश सरकार, सुरक्षा निकाय र सबै अन्य सरकारी संयन्त्रको परिचालन गर्दा निजीक्षेत्र तथा नागरिक संघ–संस्थाहरुहरु सम्मिलित संयन्त्र बनाएर प्रभावकारी परिचालन गर्न पनि हार्दिक अपील गर्दछौं । यस्तो अवस्थामा समेत यसअघि गोरखा सदरमुकाम लगायत स्थानीय तहहरुले स्थापना गरेका मास क्वारेनटाइन, मास आइसोलेसन, होल्डिङ सेन्टर, हेल्थ डेक्स लगायत सञ्चालनमा आउन नसकेको प्रति गोरखाका नागरिक समाज संघसंस्थाको गम्भिर ध्यानाकर्षण भएको समेत जानकारी गराउन चाहान्छौ ।
यस जटिल परिस्थितिमा नागरिक समाज र संघ–संस्थाहरुको भूमिका र कर्तब्य प्रभावकारी बनाउन प्रतिबद्ध रहेको अवगत गराउदै तिनै तहका सरकार तथा सम्बद्ध निकायहरूसँग महामारीसँग जुध्नका लागि निम्नानुसार माग र अपील गर्न चाहान्छौ ।
१) जिल्लाभर यसअघि स्थापना भएका मास क्वारेनटाइन, मास आइसोलेसन, आइसियु, हेल्थ डेक्स लगायतलाई थप ब्यवस्थित बनाई तत्कालै पुनः सञ्चालनमा ल्याउन माग गर्दछौ ।
२) जिल्लामा नीजि क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई कोभिड अस्पताल बनाई सञ्चालनमा ल्याउन माग गर्दछौ ।
३) जिल्लामै अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन बैंक सञ्चालनमा ल्याउन र प्रयाप्त अक्सिजन सिलिण्डरहरुको ब्यवस्थापन गर्न माग गर्दछौ ।
४) निषेधाज्ञालाई मौका छोपी स्वास्थ्य सामाग्री, खाद्यान्न लगायतमा हुन सक्ने कालोबजारीलाई रोक्न कडाईका साथ नियमित अनुगमन गर्नु साथै निषेधाज्ञालाई थप कडाई र सहज ब्यवस्थापन गर्न माग गर्दछौ ।
५) संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज संघसंस्था र सञ्चार माध्यमको भुमिकालाई थप सशक्त बनाउन सहकार्य, समन्वयको वातावरण सृजना गर्न माग गर्दछौ ।
६) कन्ट्राक्ट ट्रेसिङ लगायत कोरोना परिक्षणको दायरा बढाउदै गाउँगाउँमा समेत पिसिआरको नमुना संकलनको अभियानलाई प्रभावकारी बनाउन माग गर्दछौ ।
७. जिल्लाका श्रमिक, विपन्न वर्ग, सीमान्तकृत समुदायको लागि नगदीरुपमा दिइने राहत (ऋबकज एबअपबनभ) का कार्यक्रम सञ्चालन गर्न र बजेट व्यवस्थापन गर्न अनुरोध गर्दछौँ ।
८. मानवअधिकार विपरितका कार्यहरु र लैंगिक तथा घरेलु हिंसाको अबस्थालाई अनुगमन गर्न नागरिक समाज संघसंगठन र प्रहरीको सहकार्यका लागि आग्रह गर्दछौ ।
९. बन्दाबन्दीको समयहमा बालवालिका, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरुलाई र पछाडी पारिकएका क्षेत्र र वर्गका लागि तत्काल जरुरी पर्ने सेवा सुबिधा प्रबन्ध गर्ने पालिकास्तरको योजना तय गर्न र कार्यान्वयन गर्न अपलि गर्दछौ ।
१०) जनचेतनामूलक कार्यक्रम, सन्देश र प्रचार प्रसारलाई स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनहरुलाई परिचालन गरी सचेतना जगाउन र यस अभियानलाई थप प्रभावकारी बनाउन माग गर्दछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार