समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताए।
समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको उनको भनाइ छ ।
नगरपालिकाले नगरस्थित अटो व्यवसायी सङ्घसँग प्रत्येक वडामा एउटा अटोलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्नेगरी सहमति गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए।

सामान्यतया ती अटोले वडाबाट नगरभित्रको स्वास्थ्य संस्थासम्म बिरामी पुर्याउनेछन् । त्यसरी प्रयोग हुने अटोका चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाइनेछ ।
बिरामी बोक्न प्रयोग नभएको अवस्थामा ती अटोलाई अत्यावश्यक सामान ढुवानीमा समेत प्रयोग गर्न सकिने गरी सहमति भएको नगरपालिकाका सूचना अधिकारी भुजेलले बताए।
