काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ९ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा हिजो बुधबार कोरोनाले ३ हजार ७ सय ८० को मृत्यु भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि बढेको छ । भारतमा बुधबार एकैदिन अहिलेसम्मै उच्च ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा यसअघि गत शुक्रबार एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । मंगलबार भने भारतमा ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म २ करोड १० लाख ७७ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७२ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३० हजार १ सय ६८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमण मुक्त हुनेको संख्या करिब १ करोड ७३ लाख पुगेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ६६ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख २३ हजार १ सय ३१ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड २५ लाख डोज खोप लगाइएको छ ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
