काठमाडौं । प्रहरीले यात्रुसँग भाडा भन्दा बढी पैसा लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिएको आरोपमा एक जनालाई बुधबार गोंगबु बसपार्कबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्याङ्जा चापकोट घर भई काठमाडौं मित्रनगर बस्ने ३० वर्षीय मिलन सारू छन्। उनी बाग्लुङ भगवती काउन्टरका कर्मचारी समेत हुन्।
उनलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए।

एसएसपी भट्टराईका अनुसार काठमाडौंदेखि बाग्लुङसम्म जाने नियमित भाडा नौ सय भएकोमा सारूले तीन हजारदेखि चार हजारसम्म लिएका थिए।
सारूले वैदेशिक रोजगारबाट घर फर्किन लागेका १० जना यात्रुबाट चर्को भाडा लिएको भन्ने उजुरी परेको थियो।
पक्राउ परेका सारूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाइएको छ।
