• बुधबार, साउन १३ २०८३

गोरखा, पालुंटार र आरुघाटमा आज देखि निषेधाज्ञा, उल्लंघन गरे कारबाही


बुधबार, बैशाख २२ २०७८
845
Shares

गोरखा । आज देखि जिल्लाका तीन स्थानीय तहमा निषेधाज्ञा लागु भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा एक साथ निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘हुन त २ सय जना पुगेपछि मात्र निषेधाज्ञा गर्ने भन्ने सरकारको नीति निर्देशन छ । तर केही दिन यता यी पालिकाहरुमा तिब्र संक्रमण देखियो,’ उनले भने, ‘२०० पुग्ला र निषेधाज्ञा जारी गरौंला भन्नु भन्दा अहिले नै नियन्त्रणमा लिनुपर्छ भन्ने सबैको सुझाव आयो । त्यसैका आधारमा हामीले यो निर्णय गरेका हौं ।’

वैशाख २१ गते अर्थात मंगलबार राती १२ बजे देखि वैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा लागु गरिएको उनले बताए । भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पनि निषेधाज्ञा जारी छ । एकै गाउँका ६२ जना भन्दा बढि संक्रमित भएपछि त्यहाँ लगाइएको निषेधाज्ञा आगामी २४ गते राती १२ बजे सकिदैछ ।

दोश्रो लहरको कोरोना संक्रमण तिब्र भएपछि सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो । दुई नगरपालिकाको हकमा सोमबार निर्णय गरिएको थियो ।

आरुघाटले पनि आग्रह गरेपछि मंगलबार पुनः बैठक बसी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

‘यो हामी सबैका लागि हो प्रहरी प्रशासन र गाउँपालिका नगरपालिकाका लागि निषेधाज्ञा जारी गरिएको होइन,’ उनले भने, ‘हामी आफू रह्यौ भने अरुलाई बचाउन सक्छौं । त्यसैले हामी सबै सुरक्षित रहनु पर्छ । हामीबाट अरुमा संक्रमण फैलन दिनु हुँदैन ।’

निषेधाज्ञा जारी भएका ठाउँमा औषधी तथा स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खूल्ला रहने छ, भने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवामा रोक लगाएको छ ।

दैनिक उपभोग्य खाधन्न, तरकारी, फलफूल, माछा, मासु, दुध तथा दही, निमार्ण सामाग्री, कृषिजन्य बिउ बिजन, मल तथा पशुपन्छीको दाना विक्री गर्ने पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ५ः०० बजेदेखी ९ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखी ७ः०० बजेसम्म सञ्चालन गर्न दिइने निर्णय बैठकले गरेको छ ।

सो क्षेत्रमा स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन तथा विक्रिवितरण लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । यसैगरी एमबुलेन्स, शवबाहन, दमकल र सञ्चार माध्यमका सवारी साधन निर्वाद रुपमा संचालन हुनेछन् ।

संचारकर्मीको हकमा भने सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र सम्बन्धित संचार गृहले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।

झण्डावाला गाडी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी डियुटीमा आउजाउ गर्ने सवारी साधन तथा अत्यवश्यक सरकारी कामकाजका लागी प्रयोग हुने साधान पनि चल्न पाउने छन् ।

त्यस्तै, उद्योग, सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर तथा निर्माण स्थल नजिकै खाना र बासको ब्यबस्था गरि स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपले अपनाइँ उद्योग तथा निर्माण कार्य सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा जारी गरिएको आदेश विपरित काम गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार