• बुधबार, साउन १३ २०८३

एम्बुलेन्स नपाएर संक्रमितको ज्यान गएको भन्दै नगरपालिकामा तालाबन्दी


मंगलबार, बैशाख २१ २०७८
435
Shares


पूर्वी नवलपरासी । कोरोना व्यवस्थापनमा ध्यान दिन नसकेको आरोप लगाउँदै देवचुली नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा स्थानीयले तालाबन्दी गरेका छन् ।

वडा नम्बर १३ मा सोमबार एक कोरोना संक्रमितको मृत्यु भएकोमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीयले मेयर पूर्णकुमार श्रेष्ठ र उपमेयर पार्वता तिवारीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेका हुन् । ती संक्रमितको उपचार अभावमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्थानीय अगुवा श्याम शर्मा भुसालले नगरपालिकाले कोरोना संक्रमितको उपचारमा सघाउने सुनिश्चितता नगरेसम्म ताला नखोलिने बताए ।

सोमबार दिउँसो साढे २ बजे देवचुली–१३ का ६८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । वैशाख २० गते काठमाडौंको स्टार अस्पतालमा जँचाउँदा कोरोना पोजिटिभ देखिएका उनी घरै आएर आइसोलेसनमा बसेका थिए ।

त्यही क्रममा उनलाई श्वास फेर्न गाह्रो भएको र अस्पताल लैजान एम्बुलेन्स नपाएपछि आफन्तले ट्याक्टरमा राखेर लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

देवचुली नगरपालिकामा सबै गरेर आठवटा एम्बुलेन्स छन् । नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले स्वास्थ्यकर्मीहरूले कोभिडको लडाइँमा कुनै कसर बाँकी नछोडेको भन्दै कार्यपालिकाको निर्णय आाफूहरूले पालना गर्दै आएको बताए ।

मेयर श्रेष्ठले नगरपालिकाका सबै एम्बुलेन्स अन्यत्रका बिरामी बोक्न गएकाले ती संक्रमितले सुविधा नपाएको आफूले थाह पाएको सुनाए । आफूले वडाध्यक्ष र स्वास्थ्यकर्मीसमेतलाई एम्बुलेन्स खोज्न परिचालन गरे पनि नपाइएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार