पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
सोमबार साँझ झापाको दोमुखाको हेडबक्समा साथीसँग पौडी खेल्न गएका शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जीवन थाम्सुहाङ लिम्बुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिए ।

उनी अन्य सात जना साथीसँग पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा अन्य ६ जना साथी पानीबाट निस्किएको र उनी हराएको प्रहरीले जनाएको छ।
हामफाल्ने क्रममा उनको टाउको ठोक्किएको हुन सक्ने प्रहरीले बताएको छ।
साँझ ६ बजेदेखि हराइरहेका थाम्सुहाङलाई इलाका प्रहरी कार्यालय झिलझिले ८ बजे घटना स्थलमै मृत अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो।

हेडबक्सका सबै ढोका खोलेर नदीमा पानी बन्द गरेपछि मृतकलाई भेटिएको प्रहरीले जनाएको छ।