• बिहिबार, साउन १४ २०८३

कोरोना संक्रमण बढेपछि सरकारी कार्यालय धमाधम बन्द गरिंदै


सोमबार, बैशाख २० २०७८
525
Shares


बलेवा । कोरोना संक्रमणको जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेका छन् ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुस्ताङका जलस्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सोमबारदेखि बन्द भएका हुन् ।

सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा केही दिन पहिला कोरोना संक्रमण पुष्टि भएको थियो । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको नियमित सेवा पनि मंगलबारदेखि बन्द गर्ने भएको छ ।

जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका सेवा बन्द गरेको विषयमा जानकारी गराएको प्रशासनले कहिलेसम्म बन्द रहने भन्ने विषयमा भने जानकारी गराएको छैन ।

आइतबार जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचनामा कोरोनाको दोस्रो लहर मुस्ताङमा समेत फैलिन थालेकाले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्वारा जारी सूचनामा कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपील गरेको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार