पोखरा । गण्डकी प्रदेशमा आइतबार एकै दिन ५७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
शनिबारभन्दा संक्रमित संख्या २७४ ले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा संक्रमित संख्या पुगेको हो । पहिलो लहरमा एकदिनमा सबैभन्दा धेरै ३४२ जनामा संक्रमण देखिएको थियो ।

आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । चिकित्सकहरूले कोरोनाको संक्रमण समुदायमा भुसको आगोसरी फैलिएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।
पछिल्लो २४ घण्टामा ११ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ५७६ जना अर्थात् झण्डै ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।


गएको २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो पनि कोरोना संक्रमणबाट मृत्यु हुनेमा प्रदेशको अहिलेसम्मकै ठूलो संख्या हो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३२ पुगेको छ ।
कास्की र पोखरामा पनि कोरोना संक्रमणले उच्च विन्दु छोएको छ । कास्कीमा आइतबार ३६८ जनामा संक्रमण पुष्टि भई सक्रिय संक्रमितको संख्या १३ सय १५ जना पुगेको छ । गण्डकी प्रदेशको कुल संक्रमितमध्ये कास्कीका ६५ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । आइतबार मात्रै पोखरामा उपचाररत ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार ३ जनाको मृत्यु भएको थियो ।
गण्डकीमा चैत ३१ गतेसम्म मृत्यु हुनेको संख्या २०७ जना थियो । अहिले त्यो संख्या २३२ पुगिसकेको छ ।
