• बुधबार, साउन १३ २०८३

गोरखामा कोरोनाको जोखिम उच्च, निषेधाज्ञा गर्न सिफारिस


सोमबार, बैशाख २० २०७८
1.5K
Shares

गोरखा । कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै गोरखा नगरपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । हिजो आइतबार कार्यालयमा सम्पन्न नगर कार्यपालिका बैठकले आगामी मंगलबार रातीबाट लागु हुने गरी नगर क्षेत्रमा निशेधाज्ञा जारी गर्न जिल्ला कोभिड बिपद् ब्यवस्थापन केन्द्र (डिसिएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

‘पछिल्लो समय कोभिडको जोखिम ज्यादै बढेर गएको देखिन्छ’ उनले भने ‘केहि समय निषेधाज्ञा गर्नु न उत्तम विकल्प हो भन्ने सबैबाट सुझाव आयो, हामीले कार्यपालिकाबाट निर्णय गरेर डिसिएमसीमा सिफारिस गरेका छौ ।’

काठमाण्डौ, चितवन, पोखरा लगायतका शहरहरुमा निषेधाज्ञा जारी भएपछि झनै जिल्लामा जोखिमको दर उच्च भएको कार्यपालिकाको ठहर छ । बाहिरी जिल्लाबाट खुलमखुल्ला नागरिकहरु जिल्ला भित्रिदा जोखिमको दर बढेको भन्दै केहि समय निषेधाज्ञाको विकल्पल नरहेको पन्तको भनाई छ ।

‘हामीले सर्वदलिय र सर्वपक्षिय बैठक पनि बोलायौ, अधिकांशको राय निषेधाज्ञा गर्नुपर्छ भन्ने आयो, कार्यपालिका सदस्यहरुको पनि त्यैअनुसार सुझाव आयो’ नगरप्रमुख पन्तले भने ‘नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर हामीले १० दिनका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गरेका हौं ।’

आइतबार नगरकार्यपालिकाको बैठक अघि नगरपालिकाले राजनीतिक दल, यातायात ब्यवशायी, उद्योगी ब्यवशायी, नागरिक समाज सहितको सर्वपक्षिय बैठक डाकेर कोरोनाको अवस्था बारे जानकारी गराएको थियो । सरकारले तोकेका अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नगरपालिकाले डिसिसिएमसीलाई अनुरोध गरेको हो ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले गोरखा नगरपालिकाको सिफारिसबारे डिसिसिएमसीको बैठकमा छलफल हुने प्रतिकृया दिएका छन् ।

‘कोभिडको जोखिम बढेको छ, यस्तो बेला सबैभन्दा प्रमुख दायित्व नागरिकको ज्यान बचाउने नै रहन्छ’ उनले भने ‘हामीलाई प्राप्त सिफारिसलाई बैठकमा एजेण्डाका रुपमा लगेर छलफल भएपछि केहि निर्णय पक्कै आउछ ।’

त्यस्तै गोरखा नगरकार्यपालिका बैठकले १४ वटै वडामा पिसिआर परिक्षणलाई तिब्रता दिने समेत निर्णय गरेको नगरप्रमुख पन्तले बताए ।

‘हामी नागरिकको स्वास्थ्यप्रति गम्भिर मात्रै छैनौ, सचेत पनि छौ’ पन्तले थपे ‘अहिले भइरहेको भन्दा तिव्र गतिमा पिसिआर परिक्षणको दायरा बढाउने योजनामा हामी छौ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार