
गोरखा । कोरोना संक्रमण तिब्र भएपछि पालुङ्टार नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै आजबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।

‘नगरपालिका भित्र, जिल्लाका अन्य स्थानीय तह र छिमेकी जिल्लाहरुमा पनि संक्रमण तिब्र देखियो,’ उनले भने, ‘अनि एक साताका लागि काम रोक्ने निर्णयमा पुगेका हौं ।’
आज अर्थात बैशाख २० गते देखि २६ गतेसम्म नगरपालिका, वडा कार्यालय र मातहका सबै सरकारी कार्यालयमा नियमित सेवा बन्द रहने बताइएको छ । तर कोभिड सम्बन्धि काम भने सञ्चालन हुने उनले बताए ।

‘छिमेकी जिल्ला लगायत आसपासका स्थानीय तह र यस नगरपालिका भित्र पनि लक्षण सहितका केही संक्रमीत देखिएको र केहीको मृत्यू समेत भएको हुँदा कोभिड रोकथाम र न्यूनिकरण गर्न २०७८/१/२० गते देखि २०७८/१/२६ गतेसम्म यस नगरपालिका र वडा कार्यालयका कोभिड रोकथाम र न्यूनीकरण सम्बन्धि सेवा बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित सबैमा सूचित गरिन्छ,’ नगरप्रमुख दिपकबाबु कंडेल र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माद्धारा सयुक्त रुपमा हस्ताक्षरित सूचनामा भनिएको छ ।
