

कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या ३० पुगेको छ। सरकारले थप ७ वटा जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै देशभर निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ३० पुगेको हो।


आइतबार (आज) देखि लागू हुनेगरी मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन्।

गोरखामा भीमसेन थापा गाउँपालिका–७ र ८ बाेर्लाङ् क्षेत्रलाई केन्द्रित गरी निषेधाज्ञा जारी गरिएको छ। त्यस्तै काभ्रे र मकवानपुरका मुख्य राजमार्ग र आसपासको तथा बाजुराको हिमाली गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ।

गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुने स्थानीय प्रशासनले जनाएका छन्।
काठमाडौं उपत्यकाका तीनसहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको सरकारले जनाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, रूपन्देही, पाल्पा र सुनसरीमा जिल्लाभर निषेधाज्ञा लागू छ।

झापा, बागलुङ, बर्दिया, दार्चुला, डडेलधुरा, कालिकोट, कञ्चनपुर, जाजरकोट, सल्यान र रुकुम पश्चिममा आंशिक निषेधाज्ञा जारी गरिएको छ।
वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको थियो।
हेर्नुस जिल्ला प्रशासन कार्यालय गोरखाले भिमसेन थापा गाउँपालिका ७ र ८ मा जारी गरेकाे निषेधाज्ञाकाे सूचना
