• बुधबार, साउन १३ २०८३

गोरखामा दुई सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा


बिहिबार, बैशाख १६ २०७८
560
Shares

गोरखा । कोरोनाको दोश्रो लहर फैलिएसँगै जिल्लामा संक्रमण तिब्र भएको छ ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख/अध्यक्षहरुको उपस्थितीमा बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले २ सय जना सक्रिय संक्रमित रहेको अबस्थामा मात्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

‘जिल्लामा २०० भन्दा बढि सक्रिय संक्रमित संख्या पुगेमा जिल्ला भरी वा जिल्लाको कुनै भागमा मात्र लागु हुने गरी आवश्यक परेमा डिसिसिएमसिको सिफारिस लिई प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्ने,’ निर्णय नम्बर २ को ‘ङ’ मा लेखिएको छ ।

कुनै पालिका वडा र समुदायमा कोभिड १९ को उच्च जोखिम भई हटस्पोट हुन आएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रजिअले त्यहाँ मात्र निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

‘अहिले लकडाउन, निषेधाज्ञा गर्नु पर्ने अबस्था हाम्रो जिल्लामा छैन,’ प्रजिअ शालिग्राम शर्मा पौडेलले भने, ‘भीमसेन थापा गाउँपालिकाको केसले अलि तर्साएको छ । अन्यत्र समस्या छैन ।’ मन्त्रिपरिषदको निर्णय र जिल्लाको अबस्था दुबैलाई मध्येनजर गरी आवश्यक निर्णय गरिने उनले स्पष्ट पारेका छन् ।

अहिले जिल्लामा ६० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५२ जना जिल्ला भित्रै गराइएको परीक्षणमा कोरोना संक्रमित प्रमाणित भएका हुन । दोश्रो लहर फैलिएपछि अहिलेसम्म २१२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यद्यपी स्थानीय तहहरुमा स्वाब संकलन भइरहेकाले उक्त संख्या बढ्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार गोरखा नगरपालिकामा मात्र १५ महिला र २४ पुरुष गरी ३९ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए । गो.न.पामा मंगलरबार १२ जना संक्रमित भएका थिए ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

संक्रमणको केन्द्रबिन्दु बनेको भीमसेन थापा गाउँपालिका ७ क्यामुनटारमा बुधबार १७५ जना भन्दा बढिको स्वाब संकलन गरिएको छ । यो संख्या अझै बढ्न सक्ने स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । त्यहाँ मंगलबार एकै दिन २९ जनामा संक्रमण पुष्टि भएको थियो ।

पालुङ्टारमा पनि ७ जना संक्रमित भएपछि बिहीबार र शुक्रबार कन्ट्याक्ट टे«सिङको तयारी गरिएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिए । नयाँ गरिएको परीक्षण र कन्ट्याक्ट टे«सिङको नतिजा आएपछि जिल्लाभर सक्रिय संक्रमितको संख्या २०० भन्दा बढि हुन गएमा मात्र निषेधाज्ञा हुनेछ ।

तर जरुरी काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरोकारवालाहरुले अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार