
गोरखा । विकास निर्माणका कामहरु समयमै सक्न ठेकेदारहरुलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले निर्देशन दिएका छन् ।
बुधबार नगरपालिकाकाे कार्यालयमा नगरक्षेत्रमा निर्माणाधिन केहि मुख्य सडकका निर्माण ब्यवसायीहरुसंगको छलफलका क्रममा उनले तोकिएकै समयसिमाभित्र काम सक्न निर्देशन दिएका हुन ।

‘यो भयो र त्यो भयो भनेर अब बाहाना बनाउन पाउनु हुन्न, काम गर्ने हो भने समयमै सक्ने गरेर गर्नु, नभए हात उठाएर गए हुन्छ’ छलफलका क्रममा मेयर पन्तले भने ‘हाम्रो लेभरबाट तपाईहरुलाई कहाँ के सहयोग चाहिन्छ भन्नुस, हामी समन्वय गर्छौ तर काम चाहि समयमै सक्नुप¥यो ।’

ठेकेदारको लापरवाहीका कारण जनताले दुख पाएको भन्दै अब त्यस्तो दिन आउन नहुने उनले तर्क गरे । बिशेष गरेर सडक निर्माणका कामहरुमा ठेकेदारले लापरवाही गरिदिदा जनता त्यसबाट प्रत्यक्ष मारमा पर्ने गरेको उनले बताए ।
‘तिन सरकारमध्ये जुन सरकारको भएपनि तपाईहरुलाई बजेट, समयसिमा, मापदण्ड सबै दिएको हुन्छ अनि त्यसमा सम्झौता चाहि गर्ने अनि काम चाहि नगर्ने ?’ पन्तले प्रश्न गरे ‘समयमा काम तपाईहरु नगर्ने अनि हामीले अपजस लिनुपर्ने, अब यो अवस्था आउनुहुन्न ।’

साथै उनले सम्झौतामा तोकिएकै मापदण्ड अनुसार काम गर्न समेत भनेका छन् । सडक पिच, ढलान वा नाली निर्माणका क्रममा अधिकांश स्थानमा लापरवाहीका कारण र धेरै नाफा लिने उदेश्यले कमसल काम हुने गरेको भन्दै कुनै हालतमा त्यस्तो हुन नहुने उनले बताए ।
साथै उनले बर्खायाम अघि नै काम सक्ने गरी लाग्न समेत निर्देशन दिएका छन् ।

छलफलका क्रममा अस्पताल मार्गदेखि फिनामसम्मको सडक निर्माण गरिरहेको निर्माण कम्पनी बाँनिया निर्माण सेवा हेटौडाका प्रतिनिधी, तिनधारेदेखि गोरखा दरबारसम्म जाने सडक निर्माण गर्ने कम्पनीका प्रतिनिधी, गाप्लिङदेखि पालुङटार जोड्ने सडकका प्रतिनिधी र नारेश्वर सडकका प्रतिनिधीहरु सहभागी थिए ।
