
गोरखा । दरौंदी नदीमा थप दुई वटा जलविद्युत आयोजना निर्माण हुने भएका छन । कालिका कन्स्ट्रक्सन कम्पनीले कुल १८.१२ मेगावाटका २ जलविद्युत आयोजना निर्माणको काम अगाडी बढाएको छ ।
अजिरकोट र वारपाक सुलिकोट गाउँपालिका सिमानामा ९.८२ मेगावाटको माथिल्लो दरौदी ‘सी’ साना र ८.३ मेगावाटको माथिल्लो दरौदी ‘बी’ साना जलविद्युत आयोजनाको निर्माण लागिएको उक्त कम्पनीले जनाएको छ ।


‘अहिले दुबै आयोजनाको अध्ययन प्रक्रिया पुरा भएको छ । संरचना निर्माण गर्न उत्पादन अनुमतिपत्र लिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ,’ आयोजनाका इन्जिनियर किशोर डंगोलले भने ।
यस अघि नै विद्युत बिकास विभागले कम्पनीलाई उत्पादन अनुमति पत्र लिनका लागि आब्हान गरिसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन वन मन्त्रालयले स्वीकृत गरिसकेको आयोजना एक कर्मचारीले बताए ।


यसैगरी आयोजनाको अध्ययन रिर्पोट समेत विभागमा बुझाइसकिएको छ । सोहीका आधारमा अनुमती प्रदान गर्न लागिएको विद्युत विकास विभागले जनाएको छ । उक्त आयोजा निर्माण तथा सञ्चालन हुँदा पर्नसक्ने प्रतिकुल असरबारेमा सरोकारवालाहरुको राय/सुझाब संकलनको तयारी भइरहेको छ ।
यही बैशाख २० गते भित्र सुझाव पठाउन विभागले आग्रह गरेको छ । सो क्षेत्रका सर्वसारण र सरोकारवालाहरुले कम्पनी र विभागको कार्यालयमा प्राप्त हुनेगरी सुझाव पठाउन सक्नेछन् ।

दुवै आयोजनाको मुख्य संरचना दरौदी नदीको दायाँ किनारमा रहने गरि डिजाइन गरिएको कम्पनीले जनाएको छ । माथिल्लो दरौदी ‘सी’ निर्माण पूरा भएपछि वार्षिक सरदर ५८.५२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
माथिल्लो दरौदी ‘बी’ बाट वार्षिक ४७.२८२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । दुवै आयोजना निर्माण सम्पन्न गरी २०८० पुस १५ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत ३० किलोमिटर दुरीको मार्कीचोक सबस्टेसनमा जोडिनेछ । कालिकाले यस अघि पनि दरौंदी ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेका छ ।



पछिल्ला समय जिल्लामा विद्युत आयोजना बन्ने क्रम सुरु भएको छ । चेपे/मस्याङ्गदी दरौदी र बुढीगण्डकी नदीमा जलविद्युतको प्रचुर सम्भावना रहेको विज्ञहरु बताउँछन् । राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजना निर्माण गर्ने भनिएपनि अहिलेसम्म औपचारीक रुपमा काम सुरु भएको छैन ।
जग्गाको मुआब्जा वितरण समेत गरिसक्दा पनि अहिलेसम्म आयोजना निर्माणको काम सुरु हुन नसक्दा सो क्षेत्रका सर्वसाधारण अन्यौलमा छन् । घर गोठ बोट विरुवाको मुआब्जा निर्धारण हुन सकेको छैन ।
कतिपय व्यक्ति एवं कम्पनीले अन्य धेरै आयोजनाहरु स्वीकृती लिएर यसै थन्क्याइएका छन् । बिचौलियाहरुले झोलामा खोला हालेर बस्दा लगानी गर्न चाहानेहरु निराश बनेका छन् ।
