• बुधबार, साउन १३ २०८३

आजदेखि काठमाडौंसहित २५ सहरका शिक्षण संस्था बन्द


मंगलबार, बैशाख ७ २०७८
570
Shares

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार)देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था यही वैशाखभरका लागि बन्द गरिएका हुन्।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले संक्रमणबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्तसम्मका लागि बन्द गराएको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजदेखि काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था बन्द गरिएका हुन्।

मन्त्री गुरुङका अनुसार अब २५ सहरी क्षेत्रमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर खुल्ने छैनन्। विद्यालय बन्द भएका क्षेत्रमा अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेछ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण दर बढ्दै गएको छ। दैनिक मृत्यु दर पनि बढ्न थालेको छ।

संक्रमण नियन्त्रणका लागि सरकारले केही प्रतिबन्धात्मक व्यवस्था लागु गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार