बाटो खन्न गएको डोजरमा तोडफोड र आगजनी गरिएको छ।
मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा आफ्नो बारी खन्नुपरेको भन्दै स्थानीय पदमदेवी उप्रेती र उनकी बुहारी बेनिशा चौलागाईंले डोजरमा आगजनी र तोडफोड गरेका हुन्।

नगरपालिकाको निर्णय अनुसार वैशाख ४ गते स्थानीय, जनप्रतिनिधि र प्रहरीले बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासु—बुहारीले डोजरमा तोडफोड र आगजनी गरेका हुन्।
आगजनी र तोडफोडबाट डोजरमा क्षति पुगेको छ।
घटनापछि वडाध्यक्षसहित स्थानीयले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय पथरीले उनीहरूलाई पक्राउ गरेको छैन।
घटना घटेको तीन दिन बितिसक्दा पनि प्रहरीले जाहेरी नलिई सहमति गर्न दबाब दिइरहेको वडासदस्य रेवत बस्नेत बताउँछन्।
क्षतिपूर्ति र कारबाहीको माग गर्दै वडाध्यक्ष जोगबहादुर धिमाल, उपप्रमुख यमुना विष्ट बाँस्तोला र स्थानीयको उपस्थितिमा जाहेरी दिएका थिए। तर, प्रहरीले बेवास्ता गरेको वडाध्यक्ष धिमालले बताए।

यता, इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी नायब उपरीक्षक खड्काले भने जाहेरीका विषयमा छलफल भइरहेको र प्रक्रिया अघि बढ्ने बताएका छन्।