गोरखा । आइतबार साँझ देखि राती अबेरसम्म आएको भिषण हावाहुरीले गोरखाको जनजीवन प्रभावित भएको छ ।


साँझको हावाहुरीले जिल्लाका ११ वटै पालिकाका ४७ घरधुरीको छाना उँडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठाउँठाउँमा रुखहरु ढल्दा आइतबार साँझदेखि गोरखा जिल्लाभर विद्युत सेवा ठप्प बनेको छ । विद्युत सेवा नहुँदा जिल्लाभर सबै सेवा प्रदायक कम्पनीका इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

जिल्लाबाट प्रकाशन हुने तीनवटै दैनिक पत्रिका तथा तीनवटा एफएम रेडियो प्रकाशन, प्रशारण बन्द भएको छ । कम्प्यूटरबाट सञ्चालन हुने कार्यालयका कामहरु पनि प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार सिरानचोक गाउँपालिका ६ महटारको १७ वटा घरको छाना उडाएको छ । त्यहाँका दलित बस्तीका १७ वटा घरको छाना उँडाएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका २ कोखे आहालेमा १०, शहीदलखन गाउँपालिका ७ ओयाकका ९, पालुङ्टार नगरपालिका ४ बर्सरेका चार दलित परिवाररको घर र एउटा सामुदायिक भवन, भीमसेनथापा गाउँपालिका ७ बोर्लाङमा ४ र बारपाक सुलिकोट गाउँपालिका ७ देउरालीमा २ वटा घरको छाना उँडाएको प्रहरीले जनाएको छ ।
घरको छाना उँडाउँदा घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री भिजेर क्षति पुगेको स्थानीय प्रहरीचौकीले दिएको जानकारीलाई उद्धृत गर्दै इन्स्पेक्टर अधिकारीले बताए ।
