गोरखा । गोरखा नगरपालिकाले चैतेदशैँको अवसरमा पालिका भित्रका सबै विद्यालयमा सार्वजनिक विदा दिने भएको छ ।



नगरपालिकाको शिक्षा शाखामा शुक्रबार सम्पन्न नगरस्तरीय प्रअहरुको बैठकले चैतेदशैँको अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नगर प्रमुख राजनराज पन्तको अध्यक्षतामा सम्पन्न बैठकले आउँदो बैशाख ८ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको शिक्षा शाखाका स्रोत शिक्षक ध्रुव अर्यालले जानकारी दिए ।
कोभिडका कारण विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बारेमा भएको छलफलमा शिक्षा समितिको निर्णय अनुसार अघि बढ्ने निर्णय भएको अर्यालले बताए ।

प्रत्येक विद्यालयमा स्वास्थ्य सामग्री वितरणका लागि रकम निकासा भइसकेकाले मास्क, सेनिटाइजर, सावुन तथा पानीको व्यवस्था अनिवार्य गर्नुपर्ने पनि बैठकमा छलफल भएको थियो ।
साथै प्रत्येक दिन विद्यार्थीहरुको स्वास्थ्य अबस्था अपडेट लिन तथा रुघाखोकी, ज्वारो मापन गर्न अनिवार्य गरिएको छ ।
