

गोरखा । जिल्लामा विद्यालय स्वच्छ अभियान सुरु भएको छ । स्वास्थ्य र सरसफाई सम्बन्धी चेतना फैलाउने उदेश्यले अभियानको थालनी गरिएको हो ।
‘कोभिड पछि अपनाइएको स्वास्थ्य सजकताले बालबालिकामा हुने झाडापखाला निकै न्यूनीकरण भएको पाइयो,’ सारथी फाउण्डेसनका अध्यक्ष धुब्र देवकोटाले भने, ‘हात हुने, स्यानेटाइजर प्रयोग गर्ने र माक्स लगाउने मात्र गर्दा पनि ८० प्रतिशत सरुवा रोग कम भएको अध्ययनले देखाएको छ । यसलाई कायम राख्न हामीले यो अभियान सुरु गरेका हौं ।’

सारथी फाउण्डेसन र महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाले जिल्लाका १७ विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्ने भएका छन् । अभियान सञ्चाालनका लागि हरेक विद्यालयका २ छात्रा, २ छात्र र १ जना शिक्षक गरी ५ जना स्वच्छता नायक छनौट गरी तालिम समेत दिइएको छ ।
उक्त अभियान अन्तर्गत १ हजार स्वच्छता नायक तयार गर्ने योजना छ । १ जना स्वच्छता नायकले कम्तिमा ३ जनालाई यो अभियानमा जोड्नेछन् । उनीहरुले अबको १ वर्षमा ४ लाख जनालाई स्वास्थ्य र सरसफाईको बारेमा जानकारी गराउनेछन् ।

‘विद्यार्थीहरु परिर्वतनका संवाहक हुन, उनीहरुले छिटो म्यासेज डेलिभर गर्न सक्छन्,’ अध्यक्ष देवकोटाले भने, ‘उनीहरुको व्यवहार परिवर्तन भयो भने जरुरी परिवार र समाज परिवर्तन गराउन सकिन्छ ।’ गैरसरकारी संस्थाहरुको लगानी बिनै नेपाल तीनै तहका सरकारसँग समन्वय गरी स्वम्सेवी रुपमा यो अभियान चलाइने बताइएको छ ।
उद्धार केन्द्रकी अध्यक्ष संझना देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सिताराम श्रेष्ठ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले अभियानको सफलताको शुभकामना दिएका थिए ।
