• मंगलबार, साउन २६ २०८३

पारस खड्काले त्रिदेशीय कप नखेल्ने


शुक्रबार, बैशाख ३ २०७८
620
Shares


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।

चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेका हुन्। केही दिनअघिको प्रशिक्षणमा ‍फिल्डिङ गर्ने क्रममा पारसको दायाँ काँधमा चोट लागेको थियो।

चिकित्शकको सल्लाहमा उनले तीन हप्ता आराम गर्नु पर्ने भएको छ।

चोट लागेपछि पारसले राष्ट्रिय क्रिकेट टिमको क्याम्प छाडेका छन्। उनले बिहीबार नै होटल छाडेका थिए।

अब क्यानले पारसको स्थानमा मौका पाउने खेलाडीको नाम छनोट गर्नेछ।

त्रिदेशीय कप शनिबारदेखि त्रिवि मैदान कीर्तिपुरमा सुरू हुँदैछ। कपको पहिलो खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्दैछ। यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा हुनेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ।

नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल मलेसिया वैशाख ९ गते खेल्ने भएको छ। लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्नेछ।

आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा तय भएको प्रतियोगिता स्थगित भए पनि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर सिरिज गर्न लागेको हो।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। नेपालले पछिल्लो पटक २०२० को मार्चमा थाइल्यान्डमा एसिसी इस्टर्न रिजन प्रतियोगिता खेलेको थियो।

क्यानले त्रिदेशी कप हेर्नका लागि त्रिवि मैदानमा प्रवेश मूल्य १ सय ५० रुपैयाँ तोकेको छ।

त्रिकोणात्मक टी–२० सिरिजका लागि नेदरल्यान्ड्स र मलेसियाको क्रिकेट टिम गत मंगलबार नेपाल आइपुगेका थिए।

सिरिजका सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र अनलाइन माध्यमबाट विश्वका १ सय ४१ देशबाट लाइभ हेर्न सकिने क्यानले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार