काठमाडौं । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् ।

प्रिमनसुन एक्टिभिटी बढेकोले यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद प्रतिभा मानन्धरले बताइन् ।
मौसमविद प्रतिभा मानन्धरका अनुसार यसको बढी प्रभाव प्रदेश १ र ७ मा देखिने छ । बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने उनले बताइन् ।
मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन अवधि मानिन्छ । यो अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।

यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ । हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पुर्याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।