• मंगलबार, साउन २६ २०८३

संघीय निजामती विधेयक पारित गर्न नदिने चेतावनी


मंगलबार, चैत्र ३१ २०७७
585
Shares

काठमाडौं । नेपाली कांग्रेस निकटको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा विधेयक पारित नगर्न चेतावनी दिएको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियन (संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा विधेयक लोकतन्त्रविरोधी रहेको बताए ।

विधेयकले संविधानलाई नै उल्लङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकासलगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो विधेयक पास भए कर्मचारी आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

राष्ट्रिय भेलाले विधेयकको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकूलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा विधेयकले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । श्रेणीविहीन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनले बताए ।

सरकार नायब सुब्बाको वृत्तिविकास र बढुवामा गम्भीर नभएको पनि उपाध्यक्ष कटुवालले बताए । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार