काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए ।
संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले बताए ।
उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ ।

यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।