• सोमबार, साउन २५ २०८३

देशमा शान्तिको कामनाले पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा


आइतबार, चैत्र २९ २०७७
730
Shares


काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ।

इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको जनाइएको छ।

यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको थियो। पूजा सम्पन्न गरी आज बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा सुरु भएको हो। बज्रेश्वरी अर्थात् पिङ्गलास्थानको जात्रा आज बेलुकीसम्म मनाइन्छ।

बेलुकी अमालकोटबाट मूलभट्ट कहाँ गएर आज्ञा लिएपछि फर्केर पगरी बाँधी बज्रेश्वरी जात्रा समापन गरिन्छ। बज्रेश्वरी जात्रा समापन गरी आज रातिदेखि नै वत्सलेश्वरी जात्रा शुरु हुन्छ। वत्सलेश्वरी जात्रा भने आजदेखि तीन दिनसम्म मनाइन्छ। चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

देशमा शान्ति गराउन पूजा एवं जात्रा भएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ। देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन्। उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ। भगवान् शिवको पत्नीका रुपमा पूजिने वत्सलेश्वरीलाई निकालेको भन्ने किम्बदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ। नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन भोलि रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् सोमबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ। यसै परम्पराअनुसार सोमबार वत्सलेश्वरीको रथ ताने चाबहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिन्छ।

त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिन्छ। प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ। यसै विश्वासले बालबालिका पनि जात्रा हेर्ने पशुपति क्षेत्रमा आउने गरेका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार