भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्त रूपमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्।

लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटक—पटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन्।
पत्रमा यही जुलाई १ तारिखभित्र नेपाल र बेलायत सरकारबीच वार्ता समिति गठन गरी भूपू गोर्खालाई दिँदै आएको असमान पेन्सनलगायतका समस्याहरू समाधान गर्न आग्रह गरिएको छ।
संयुक्तपत्रका एक हस्ताक्षरकर्ता मेजर टिकेन्द्र दल देवानले पत्रको जवाफ बेलायत सरकारले जुन रूपमा फर्काउँछ सोहीअनुरूप आफूहरूले थप अन्य कार्यक्रम तयार पार्ने बताए।
उक्त संयुक्त पत्रमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युकेका संयोजक थर्क राना, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई, ब्रिटिस गोर्खा नेपाल भूपू सैनिक सङ्घका अध्यक्ष केशबहादुर गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान र गैरआवासीय नेपाली सङ्घ यूकेका उपाध्यक्ष एवं गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरको हस्ताक्षर रहेको मेजर देवानले जानकारी दिए।
यसैगरी सङ्गठनहरूले संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि केही समयभित्रै एक छुट्टै पत्र लेखी पठाउने कार्यक्रम रहेको बताएका छन्।रासस
