• सोमबार, साउन २५ २०८३

भारतले बनायो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज


मंगलबार, चैत्र २४ २०७७
490
Shares


एजेन्सी । भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन्। कस्मिरमा रहेको चेनाब नदीमा बनेको उक्त आर्क ब्रिजको निर्माण सोमबार सकिएको छ।

नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ। १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन्।

भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो।

१० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ। १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ।

यो रेलमार्गको योजना सन् २००२ मा बनेको हो। २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो।

यो पुल बनेपछि जम्मु—कस्मिर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ।

अब त्यहाँ रेलवे लिक बनाउन सुरू गरिनेछ। एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिने र साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि बताएका छन्।

‘यो निर्माण कार्य केवल अत्याधुनिक इन्जिनियरिङ र टेक्नोलोजीको क्षेत्रमा भारतको बढ्दो तागतको मात्र प्रदर्शन होइन, संकल्पबाट सिद्दी हुन्छ भन्ने देशको बदलिएको कार्य संस्कृतिको पनि उदाहरण हो,’ मोदीले ट्वीट गर्दै भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार