• सोमबार, साउन २५ २०८३

विपद्को पूर्व तयारीमा जुट्याे गोरखा नगरपालिका


मंगलबार, चैत्र २४ २०७७
680
Shares

गोरखा । गोरखा नगरपालिकाले विपद् व्यवस्थापनको लागि पूर्व तयारी सुरु गरेको छ । नगर क्षेत्रका १४ वटै वडामा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई तालिम दिनुका साथै कृतिम घटना अभ्यास समेत सुरु गरिएको छ ।

‘जुनसुकै हुन सक्ने विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्नु हाम्रो मुख्य उदेश्य हो,’ नगरप्रमुख राजनराज पन्तले भने, ‘नगरबासीलाई सचेत र सुरक्षित बनाउन यो कार्यक्रम सफल हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

भुकम्प, चट्याङ, हावाहुरी, डढेलो र बाढी पहिरो लगायतका विपद्बाट कसरी बच्ने, घाइतेको उद्धार कसरी गर्ने, प्राथमिक उपचार र राहत वितरण लगायतका काम पनि कृतिम घटना अभ्यास मार्फत देखाइने छ ।

त्यसका लागि नेपाल सेनाको रिपु मर्दन गण सहयोगमा तालिम तथा कृतिम घटना अभ्यास गरिने गोरखा नगरपालिकाले जनाएको छ । तालिममा स्थानीय मुद्धाहरुको बारेमा पनि वडा स्तरीय विपद् व्यवस्थापन समितिले छलफल गर्नेछ ।

‘आज (सोमबार) बाट शुभारम्भ गरेका छौ, अब एउटा सेडुल बनाएर १४ वडासम्म वडा स्तरीय विपद् व्यवस्थापन समितिमा छलफल गर्छौं,’ उनले भने, ‘त्यहाँ उठेका सबालका बारेमा फेरी नगर स्तरीय विपद् व्यवस्थापन समितिमा ल्याएर छलफल गरी जोखिम न्यूकरणको काम गर्ने हाम्रो योजना छ । ’

उक्त कार्यक्रम सञ्चालन गर्नका लागि अहिले ५ लाख बजेट छुट्याइएको छ । सोमबार वडा नम्बर ६, ८ र ९ को विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम दिइएको छ । रिपुमर्दन गणका प्रशिक्षकहरुले विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत वितरण, डढेलो नियन्त्रण लगायतका बारेमा प्रशिक्षार्थीहरुलाई जानकारी गराएका थिए ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख पन्तले विपद् जुनसुकै बेला पनि आउने सक्ने भएकाले सबै चनाखो रहनु पर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, वडा नं. ८ का अध्यक्ष कृष्ण केसी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा स्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरु वडाध्यक्षहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्स, रेडक्रस शाखा, पत्रकार महासंघका पदाधिकारीहरु, लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार