• सोमबार, साउन २५ २०८३

लमजुङ्गबाट बारपाक घुम्न आएका शिक्षककाे टाेली सवार जीप दुर्घटना, प्रअसहित २ काे मृत्यु


शनिबार, चैत्र २१ २०७७
945
Shares

गोरखा । बारपाक घुम्न आएका शिक्षकको टोली सवार जिप दुर्घटनामा परेको छ । लमजुङको विचौरको बागेश्वरी माध्यामिक विद्यालयका शिक्षकहरुको टोली शनिबार गोरखाको बारपाक घुमेर फर्कदा बेलुका राङरुङमा जीप दुर्घटनामा परेको हो ।

शनिबार बेलुका करिब पौने सात बजे ना ५ च ३२९८ नम्बरको यात्रुवहाक जिप दुर्घटना हुदा दुई जना शिक्षकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनमा परी सो विद्यालयका प्रधानाध्यापक ५० बर्षका रामेश्वर न्यौपाने र शिक्षक ४८ बर्षका ठाकुर दवाडीको मृत्यु भएको डिएसपी दाहालले बताए । तर उनिहरुलाई जिल्ला अस्पताल गोरखाले राती अबेर पौने ११ बजे मात्रै मृत घोषित गरेको थियो ।

दुर्घटनामा गम्भिर घाइते रहेको भन्दै उनिहरुलाई तत्कालै यात्रु वहाक बस मार्फत जिल्ला अस्पताल ल्याइएको थियो । तर अस्पताल ल्याएसंगै चिकित्सकको टोलीले न्यौपाने र दवाडीलाई मृत घोषित गरेको डिएसपी दाहालको भनाई छ ।

त्यस्तै दुर्घटनामा परि सोही विद्यालयका ६ जना शिक्षक र जिपका चालकसहित ७ जना घाइते भएका छन् । बारपाकबाट फर्कदै गरेको जिप राङरुङको ओरालो झदै गर्दा एक्कासी ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाहालले बताए ।

‘बारपाकबाट राङरुङबाट झर्दै गर्दा जिपको एक्कासी ब्रेक फेल भयो, जिपभित्र रहेका यात्रुहरुले कुनातिर मोड्नुस भनेपछि चालकले कुनातिर लैजादा ठोक्किएर जिप त्याही पल्टियो’ चालक र घाइतेको भनाई उदृत गर्दै डिएसपी दाहालले सिभिलखबरसंग भने ‘कुनामा ठोकिएको जिप घुमेर फेरी रोडबाट तल खस्न पुग्यो ।’

जिप सडकबाट झण्डै ६० मिटर तल खसेको बताइएको छ । जिप खसेलगत्तै स्थानीय तत्कालै घटनास्थलमा पुगेर घाइतेको उद्दारमा खटिएका थिए । त्यस्तै केहि समयपछि जौबारी र बालुवाबाट समेत प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी सबैलाई बस मार्फत जिल्ला अस्पताल ल्याएका थिए ।

दुर्घघटनामा गरी घाइते हुनेहरुमा ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहट्टा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल र लमजुङ बेशीशहर १० घर भएका २० बर्षिय जिप चालक सन्तोष तामाङ रहेको डिएसपी दाहालले बताए ।

घाइतेहरुको भने अधिकांशको टाउको, ठाड, हात, खुट्टा लगायतमा चोट लागेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाहिरी जिल्ला पठाइएको दाहालले जानकारी दिए । दुर्घटनाको के कसरी भयो भन्ने बारे भने प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए । तस्विर : साँकेतिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार