
गोरखा । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशकाे नेतृत्वका लागि चार जनाकाे उम्मेदवारी परेकाे छ । आगामी चैत २५ गते हुने निर्वाचनका लागि चार जनाकाे उम्मेदवारी परेकाे हाे । जसमा दिपेन्द्र श्रेष्ठ, नारायण प्रसाद शर्मा, एलपी बञ्जरा र आरजु विष्ट सल्यानीको उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी १२ संगठनबाट संयुक्त रुपमा शर्माको उम्मेदवारी परेको छ भने प्रगतिशील–व्यवसायिक–समावेशी–राष्ट्रवादी समूह तर्फबाट श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् । बञ्जरा र विष्ट भने स्वतन्त्र उठेका हुन ।

त्यस्तै महासंघ प्रदेश कमिटिकाे २१ पदका लागि ४५ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचनमा २ गठबन्धन भएको भए पनि बिहीबार १० बजेदेखि साढे ५ बजेसम्म मनोनय दर्ता गर्न राखिएको समयमा गठबन्धन बाहिरबाट पनि उम्मेदवारी दर्ता भएको छ ।
उपाध्यक्ष खुलातर्फ इन्द्रप्रसाद पौडेल, दीपक भट्टराई र माधवप्रसाद पनेरुले मनोनय दर्ता गराएका छन् । उपाध्यक्ष महिलातर्फ शान्ति गुरुङ र सोनी शर्माले मनोनय दर्ता गराएका छन् ।
महासचिवमा गोविन्दप्रसाद सुवेदी र दिल शिरीषबीच प्रतिस्पर्धा हुने भएको छ । सचिव खुलातर्फ ऋषिकान्त पौडेल, प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जराले उम्मेदवारी दिएका छन् ।
सचिव समावेशीतर्फ रुद्र श्रीषमगर र सुशीलबाबु श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खुला सदस्य ५ जना रहने छन् । त्यसमा १३ जनाको उम्मेदवारी परेको छ । ३ जना निर्वाचित हुने महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ ।

दलित महिला सदस्यमा २ जना, सदस्य आदिवासी जनजातितर्फ ४ जना र सदस्य अल्पसंख्यकतर्फ २ जनाको उम्मेदवारी परेको छ । सदस्य मधेसीतर्फ भने कुनै उम्मेदवारी परेको छैन ।
चैत २५ गते हुने निर्वाचनमा शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।