• सोमबार, कार्तिक २४ २०८३

दिउँसै आइएमई छिरेर खुकुरी देखाउँदै ६ लाख लुटपाट, पक्राउ परे चार लुटेरा


बिहिबार, चैत्र १९ २०७७
1.1K
Shares


काठमाडौं । काठमाडौंमा दिउँसै आइएमईमा प्रवेश गरेर लुटेराहरूले ६ लाख रुपैयाँ लुटपाट गरेका छन्। बुधबार दिउँसो खुकुरी देखाएर न्युरोडको खिचापोखरीमा रहेको आईएमईमा लुटपाट भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले कर्मचारी दीपक मल्ललाई हातमा बाँधेर खुकुरी देखाएर लुटेका हुन्। परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार लुटपाटमा संलग्न चार व्यक्तिलाई पक्राउ पनि गरिएको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर घर भई पुरानो बानेश्वरको होस्टलमा बस्ने १७ वर्षीय दीपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भई सोही होस्टलमा बस्ने २१ वर्षीय तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका २० वर्षीय उमेश केसी छन्।

बुधबार दिउँसो साढे ३ बजे लुटपाट भएको र त्यसको केही घण्टामै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । परिसर र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएका प्रहरीले केही रकम बरामद गरेको र केही रकम खर्च गरिसकेको प्रहरीलाई बताएका छन् ।

बिहीबार बिहान काठमाडौं— १६ बालाजु बाइपासस्थित मञ्जु पुटुवारलाई राख्न दिइएको ७५ हजार र लुटपाटमा संलग्नबाट ५९ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए। उनीहरूलाई प्रहरीले लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूसँगै लागुऔषध सेवन गरिरहेका रोल्पा लिवाङ घर भई हाल धापासी बस्ने २२ वर्षीय प्रशन्न हमाल ठकुरी, पुरानो बानेश्वरको एक होस्टलमा बस्ने २२ वर्षीय सफल आचार्य र रुपन्देही घर भई सोही होस्टलमा बस्ने २४ वर्षीय मिलन ढकाल पक्राउ परेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार