घाँस काट्न गएका सात जना बेपत्ता भएका छन् । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका हुन् ।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यी सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता किशोरी तथा बालिकाहरुको खोजी गर्न प्रहरी टोली पठाइएको बताए। तर, अहिलेसम्म कुनै सूचना प्राप्त नभएको उनको भनाई छ ।
एकै पटक ७ जना बेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।
