
गोरखा । ठेकेदारले काठ नल्याएपछि गोरखा दरबार पुनर्निमार्णको काम फेरी रोकिएको छ । निर्माण सामाग्री अभाव भएपछि फागुन २६ गतेबाट काम पुर्ण रुपले ठप्प भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
‘निर्माण सामाग्री अभावका कारण फागुन १ गते रोकिएको काम १४ गतेबाट सुरु भएको थियो,’ अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने,‘प्रतिवद्धता अनुसार आवश्यक काठ आएन, फेरी फागुन २६ गतेबाट सबै काम ठप्प छ । कामदारहरु पनि साइडमा छैनन् ।’


ठेकेदार कम्पनी पचली शिवाको जेभीले गत आइतबार सम्म ल्याउने मौखिक प्रतिवद्धता गरेपनि मंगलबार साँझ सम्म काठ नआएको उनले बताए । गोरखा दरबार पुर्ननिर्माणका लागि १०४ वटा लामो खालको दलिन र ४ थाम आवश्यक पर्ने बताइएको छ ।

तर ठेकेदारले अहिलेसम्म ६५ वटा मात्र दलिन ल्याएका छन् । अझै ३९ वटा दलिन र ४ वटा थाम नल्याउदा पुनर्निमार्णको काम रोकिएको हो । पर्याप्त काठ नभएपछि त्यो विचमा पुरानो टुँडाल, आँखी झ्याल लगायतका पुराना सामानहरु मर्मत गरेर कामदारले समय बिताएका थिए । उक्त काम पनि सकिएपछि उनीहरु काम बिहिन भएका हुन ।

उता ठेकेदार कम्पनीले भने काठको सहज आपूर्तीमा समस्या भएकाले ढुवानी हुन नसकेको दाबी गरेको छ । सरकारले लामो खालको काठ ओसारपसारमा प्रतिवन्ध लगाएकाले समस्या भएको कम्पनीको गुनासो छ ।

तर पुरातत्व विभाग उक्त कुरा मान्न तयार छैन । ‘पहिले समस्या थियो । यद्यपी १ महिना अघिबाट सरकारले त्यो प्रतिवन्ध हटाइसकेको अबस्था छ,’ अड्डाका प्रमुख भुषालले भने, ‘यो त उहाँको बाहनाबाजी मात्र हो ।’
गोरखा दरबार पुनर्निर्माणको अन्तिम समय सिमा मंसिर मसान्तमा सकिइसकेको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७४ सालमा ठेक्का सम्झौता भएको उक्त दरबारको अहिलेसम्म ६५ प्रतिशत पनि काम सकिएको छैन ।


२०७६ मंसिरमा पहिलो समय सिमा सकिएपछि २०७७ जेठ मसान्त सम्मका लागि १ वर्ष म्याद थपिएको थियो । त्यसपछि ६ महिनाका लागि थपिएको समय पनि सकिएपछि अहिले विभागले नीतिगत रुपमा म्याद थपेको अबस्था छैन । म्याद थप नगरे पनि काम भने गराउने नीति विभागको देखिन्छ ।
‘अहिलेसम्म म्याद थप्ने वा कारवाही गर्ने भन्ने केही निर्णय भएको छैन,’ उनले भने, ‘कन्ट्याक्टरलाई काम गर्न कुनै रोकतोक पनि गरिएको छैन ।’ तर कानूननत त्यस्तो गर्न नमिल्ने बिज्ञहरु बताउँछन् ।
कानूनी हिसाबमा म्याद सकिएकाले अब कसरी अघि बढ्ने भन्ने बारेमा आवश्यक छलफल भइरहेको विभाग स्रोतले बताएको छ । ऐतिहासिक धरोहरहरु पुनर्निर्माणको काम संवेदशिल हुने, दक्ष कामदारको अभाव, प्रतिकुल समय लगायतका कारणलाई आधार बनाएर विशेष परिस्थितीमा केही सरकारले फेरी समय थप गर्न सक्ने डिजि दामोदर गौतमको संकेत छ ।


विभाग र ठेकेदारको जुहारीले गोरखा दरबार पुनर्निर्माणको काम थप अन्यौलमा परेको छ । जिल्लाका सरोकारवालाले समेत आवश्यक चासो नदिएको आम सर्वसाधरणको गुनासो छ ।
४ करोड ३२ लाख लागत अनुमान गरिएको गोरखा दरबारको मुल दरबार पुननिर्माणमा ढिलाई हुँदा अन्य संरचना निर्माणको काम पनि प्रभावित भएको छ । गोरखा दरबार पुनर्निर्माणमा ढिलाई हुँदा जिल्लाको पर्यटन क्षेत्रमा त्यसको प्रभाव परेको छ ।
अहिले भ्रमणको सिजनमा जिल्ला आएका पर्यटक एवं विद्यार्थीहरु निराश भएर फर्कन बाध्य भएका छन् ।
तस्विर : फाइल